काठमाडाैं। डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई)ले सूची सार्वजनिक गर्दै विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जनालाई अमेरिकाबाट उनीहरुको देश फर्काउने जनाएको हो ।
यो सूचीमा १३ सय ६५ जना नेपाली समेत परेका छन् । ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गरेलगत्तै आप्रवासीलाई स्वदेश फिर्ता पठाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

अमेरिकाबाट निष्कासित हुनेमा होन्डुरसका नागरिकको संख्या सर्वाधिक छ । अमेरिकाबाट होन्डुरसका २ लाख ६१ हजार ६ सय ५१ जना निष्कासित हुनेछन् ।
त्यस्तै, ग्वाटेमालाका २ लाख ५३ हजार ४ सय १३, मेक्सिकोका २ लाख ५२ हजार ४४, एल साल्भाडोरका २ लाख ३ हजार ८ सय २२ जना, चीनका ३७ हजार ९ सय ८ र भारतका १७ हजार ९ सय ४० जना निष्कासित हुनेछन् ।
अमेरिकामा हाल १ करोड ११ लाख गैरकानूनी आप्रवासी बसोवास गरिरहेका छन् ।






