काठमाडौं । काठमाडौं विश्वको दोस्रो प्रदूषित सहर बनेको छ । विश्वभरको मुख्य क्षेत्रको वायु स्वच्छता मापन गर्दै आएको आईक्यू एअरकाअनुसार काठमाडौंको वायु प्रदूषण १९६ एक्यूआई छ ।
पाकिस्तानको कराची २१५ एक्यूआईसहित प्रदूषित सहरमध्ये पहिलो नम्बरमा छ ।

त्यस्तै नेपालमा भने पोखराको वायु प्रदूषण लगातार दोस्रो दिन पनि देशकै शीर्ष स्थानमा रहेको छ । बिहान साढे १० बजेसम्म पोखराको वायू प्रदूषण १९० एक्यूआईसहित रेड जोनमा छ ।
वातावरण विभागका अनुसार पोखरापछि दोस्रो स्थानमा काठमाडौंको शंखपार्क दोस्रो र भरतपुर तेस्रो स्थानमा छ । दुवैको वायु दूषण १८२ एक्यूआई मापन गरिएको छ ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।






